उपसभामुख हटाउने कुराबाट कांग्रेस– एमाले ब्याक हुन्छन् : प्रचण्ड

56

विराटनगर, २९ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने टिप्पणी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा केही त्रुटी गरेको भन्दै त्यसको लागि पदबाट हटाउनेसम्म जान नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाका लागि ख्यातिप्राप्त भएको व्यक्ति हुन् तर टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्नु हुन्छ होला ।’

उहाँले संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उहाँले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने पनि बताउनुभयो । यसको साथै, उहाँले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसद्‌मा विरोध जारी रहन्छ ।’

Share This:
सम्बन्धित खबर
Loading...