एनपिएलका मार्की खेलाडीको ड्र आज

45

काठमाडौँ, २९ भदौ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) मार्की खेलाडीको लक्की ड्र आज हुँदै छ ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपिएलको मार्की खेलाडी घोषणा गर्दै सार्वजनिक गरेको थियो ।

एनपिएलमा सहभागी आठ फ्रेन्चाईजी पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णालीले ८ मार्की खेलाडीलाई लक्की ड्रबाट आफ्नो टिममा सामेल गराउने क्यानले जनाएको छ ।

क्यानले आज अपराहन्न १ बजे लक्की ड्र कार्यक्रममार्फत् मार्की खेलाडी कुन फ्रेन्चाइजबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ ।

‘लक्की ड्र’ बाट आएका पहिलो खेलाडी काठमाडौँले पाउनेछ । त्यस्तै, दोस्रोदेखि आठौँ नम्बरमा पोखरा, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिमको पालो आउनेछ । एउटा मार्की खेलाडीले तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्यवय गर्नुपर्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...