काठमाडौँ, २८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षलाई नीति निर्माण गर्ने र विधेयक पास गर्ने वर्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रबार काठमाडौँ आयोजित सामुदायिक रेडियो प्रसारक संघको १८औँ वार्षिक साधारण सभा र अधिवेशनमा उहाँले राजा महेन्द्रको नीतिले अझै पनि चलिरहेको भन्दै त्यसलाई परिवर्तन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो वर्ष कतिपय नीति संशोधन गर्नुपर्ने छ । राजा महेन्द्रको नीति त फाल्नुपर्यो नी । गणतन्त्रात्मक शासन प्रणालीमा काम गर्ने नीति बनाउनुपर्यो । त्यही नीतिअनुसार विधेयकहरु बनाउनुपर्ने हुन्छ । यो वर्ष सबै नीति निर्माण गर्ने, विधेयक पास गर्ने वर्ष बनाउने हो ।’
यसका साथै, उहाँले पञ्चायतको नीति, कानुनबाट शासित क्षेत्रलाई सुधार गर्ने अवसर प्राप्त भएको भन्दै खुसी पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै अभियान सञ्चालन गर्नको लागि कुनै अध्ययन हुँदैन, अभ्यास पनि हुँदैन । नीति पनि हुँदैन । एक्कासी अभियान सुरु हुन्छ । अझै पनि १९, १५, १३ र २६ सालका कानुनले चलिरहेका छौँ । बहुदलमा दुईवटा मात्र कानुन बनेको छ, एउटा प्रेस काउन्सिलको र अर्को सञ्चार ऐन संशोधन भएको रहेछ । बाँकी सबै राजा महेन्द्रको कानुनबाट शासित रहेछ । बहुदलीय व्यवस्थामा बसेर पञ्चायतको नीति, कानुनबाट शासित छौँ हामी । यसरी कसरी विकास हुन्छ । यसलाई सुधार गर्ने अवसर प्राप्त भएको छ भनेर म खुसी पनि छु ।’
सबै पार्टीले भाषण गर्न जान्ने नेताहरु मात्र धेरै निर्माण गरेको भन्दै कुर्सीमा बसेर शासन गर्न योग्य नेताको आवश्यकता रहेको पनि उहाँको भनाइ छ ।