काठमाडौँ, २८ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै जनयुद्धलाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
भोलिदेखि प्रसारण हुन लागेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उहाँहरुले यस्ता धारणा राख्नुभएको हो ।
कतिपय शक्तिहरुले लाखौँ जनताको सहभागिता भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताउनुभयो ।
‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौँ भनेको पनि सुन्छु’, उहाँले प्रश्न गर्नुभयो, ‘हामी मूलधारमा आयौँ कि हामीले मूलधार सिर्जना गर्यौँ ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ । अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’
त्यस्तै, नेसपाका अध्यक्ष डा.भट्टराईले जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै त्यसक्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताउनुभयो ।
‘बच्चा जन्मदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसीयाली हो,’ उहाँले भन्नुभयो, ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुसी नै जनयुद्धको मूल पक्ष हो ।’