काठमाडौँ, २७ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयसँग सम्बन्धित ऐन र नीतिहरुमाथि काम भइरहेको भए पनि बजेट अभावका कारण पूर्वाधार निर्माण रोकिएको गुनासो गर्नुभएको छ ।
बिहीबार शिक्षा विज्ञान एवम् सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सन्दर्भमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री चौधरीले देशको झन्डै ४२ प्रतिशत युवाहरु खेलकुद मन्त्रालयअन्तर्गत रहेको भए पनि बजेट अभावमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशको झन्डै ४२ प्रतिशत युवाहरु युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका छन् । तर, बजेट सबै मन्त्रालयभन्दा कम यही मन्त्रालयमा छ । राष्ट्रिय युवा नीति सम्भव भएसम्म भाद्र नभए असोजमा ल्याउने तयारी गरेका छौँ । यसमा व्यापक छलफल गरेर अन्तिमतिर पुगेका छौँ । त्यसैगरी, राष्ट्रिय खेलकुद नीति, २०७२ लाई पनि संशोधनको तयारी गरेका छौँ । असोजसम्म प्रकाशन गर्ने तयारी गरेका छौँ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधनका लागि छलफल भइरहेको छ । अगामि हप्तासम्म अर्थ मन्त्रालयमा राय सुझावका लागि पठाउने तयारी गरेका छौँ । तर, आजको दिनमा मन्त्रालयको मुख्य समस्या नै बेजट हो । कार्यक्रमहरु सञ्चालन गर्नका लागि बजेट नै आवश्यक पर्दछ । बजेट अभावका कारणले लामो समयसम्म पूर्वाधार निर्माण समेत हुन सकेको छैन । बजेट अभावकै कारणले कयौँ रंगशालाहरु अधुरै रहेका छन् । पूर्वाधार निर्माण सम्पन्न गर्नका लागि इकाई गठन गर्नुपर्ने देखिएको छ ।’
उहाँले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनलाई दिने भनिएको ६५ लाख रुपैयाँ पुरस्कार भोलि वितरण गरिने जानकारी दिनुभयो ।
‘पारा ओललम्पिक खेलकुदमा कास्य पदक हासिल गरी राष्ट्रिय एकता र नेपालको गौरव बढाएकोमा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई भोलि कर नकाटिकन ६५ लाख रुपैयाँ पुरस्कार वितरण गर्ने तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीमा मन्त्रालयमा जुटेको चौधरीले उल्लेख गर्नुभयो ।