कप्तान केनको गोलमा इंग्ल्यान्ड विजयी

14

काठमाडौँ, २६ भदौ । युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले फिनल्यान्डमाथि २–० गोल अन्तरको जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्यान्डका कप्तान हेरि केनको १००औँ क्यापमा उनैले गरेको २ गोलको मद्धतले इंग्ल्यान्ड विजयी भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए । ५७औँ मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।

उनै केनले ७६औँ मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो । त्यसपछि दुवै टिमले गोल नगर्दा अन्ततः इंग्ल्यान्ड २–० गोल अन्तरले विजयी भयो । केनले इंग्ल्यान्डको राष्ट्रिय टिममा सन् २०१५ मा लिथुआनियाविरुद्ध २०१६ को युरो क्वालिफायिङमा डेब्यु गरेका थिए ।

यही समूह २ मा रहेको ग्रीकले आयरल्यान्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ ।

ग्रीकका लागि फोटिस इओन्डिसले गोल गर्दै ५०औँ मिनेटमा गोलको खडेरी तोडेका थिए । ८७औँ मिनेटमा क्रिष्टोस टोजिल्सले गोल गर्दै ग्रीकलाई २–० को जित दिलाए ।

जारी प्रतियोगितामा ग्रीक र इंग्ल्यान्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन् । आयरल्यान्ड र फिनल्यान्ड भने अंकविहीन छन् ।

Share This:
सम्बन्धित खबर
Loading...