काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बिपीको छोरा भएकै कारण सजिलै चुनावहरु जित्ने गरेको दाबी गर्नुभएको छ ।
सोमबार नेपाली कांग्रेस बागमती प्रदेशले बिपी कोइरालाको १११औँ जन्म जयन्तीको अवसरमा ‘बिपी, व्यक्ति एकः विचार अनेक’ विषयक विचार प्रवाह कार्यक्रममा उहाँले बिपीको छोरा हुँदा सबै कुरामा उत्कृष्ट हुन् धेरै कठिन भएता पनि छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि आएको उहाँको दाबी थियो ।
उहाँले भन्नुभयो, ‘सबै कुरामा उत्कृष्ट हुन धेरै नै गाह्रो छ । कहिले काहीँ मलाई के लाग्छ भने म एउटा साधारण परिवारको सदस्य भएको भए कति स्वतन्त्र हुन्थ्यो होला । तर, म आफूलाई पूरै जकडियको अनुभव गर्छु । यो गर्नु हुँदैन, यो गर्नुपर्छ, राम्रो गर्नुपर्छ भन्नेमा केन्द्रित हुनुपरेको छ । तर, यसमा एउटा रमाइलो पक्ष पनि छ बिपीको छोरा भएको हुनाले हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् । कति सजिलै चुनाव पनि जित्छु । केही गर्नै पर्दैन ।’
उहाँले बिपीले ठुलो होइन असल मान्छे बन्नुपर्छ भन्ने गरेकाले असल बन्न पनि धेरै कठिन हुने गरेको सुनाउनुभयो । बिपी व्यक्ति भन्दा पनि विचार भएको उल्लेख गर्दै उहाँले जीवनभर संघर्ष गर्नुभएको कुरा सुनाउनुभयो ।