स्मार्ट बन्यो मौलिक तिज

15
  • प्रर्मिला कार्की

केही साता बितिसक्यो तिज पर्वसँग सम्बन्धित तस्बिर र भिडिओले सामाजिक सञ्जाल रंगिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्बिरले तिज मनाउने तौरतरिका बदलिएको देखाउँछ । स्मार्ट मोबाइलले क्लिक भएका तस्बिर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्बिर र मोबाइलबाटै अपलोड भएका भिडिओको म्यासेज बक्समा ‘ह्याप्पी तिज’, ‘सो नाइस’ लेखिएका कमेन्टको ओहिरो छ । छिनछिनमा अपडेट भइरहने तिजका तस्बिर र भिडिओले हिन्दु धर्मावलम्वीका पर्वहरु अब स्मार्ट बन्दै गइरहेका छन् भन्ने स्पष्ट दृष्य झल्किन्छ ।

सामाजिक सञ्जालको वालमा मात्र नभइ समग्रमा हिन्दु नारीहरुको महान चाड हरितालिका तिजले सबैतिर रौनक छाएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिर र भिडिओले तिज मनाउनैपर्ने बाध्यता त थपिदिएको छ नै त्यो भन्दा पनि मोबाइलबाटै क्लिक भएका सेल्फी पोज अनि तस्बिरहरु अपलोड भएन भने तीज खल्लो हुने र ‘मेमोरियल’ हुनै नसक्ने भइसकेको छ । तीज आउनु दुई महिना पहिलेदेखि युट्युब आइसकेका तिजे भाकाले त झनै तिजको माहोल नै तताइसकेको छ । परम्परालाई नियाल्ने हो भने साउन महिनाभरि बस्ने भगवान शिवको ब्रतसँगै हातमा लगाइने हरिया रंङ्गका चुरा, हरियो पोते, मेहेन्दी र राता पहिरनले तिज आएको प्रष्ट पार्छ । गाउँघरतिर साँझपख मादलको घिन्ताङ र तिजको भाकाले हिन्दु नारीहरुलाई प्रफूल्लित तुल्याउने गर्छ । घरको कामले थिचिएका महिलाहरुका लाति तिज एक उल्लासको पर्व हुने गर्छ । किनकी कतिपय महिलाहरुले माइतीघर जानका लागि तिज नै पर्खनु पर्ने बाध्यता छ ।

आफ्नो जन्म घर, आमाबुबा, भाइबहिनी, अन्य नातागोता र साथीसंगीलाई चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तिज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलीबेटी माइती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भुमिका खेलेको हुन्छ । व्यस्तताका कारण माइत घर पुग्न नसकेका महिलाहरुको माइत पुग्ने ठुलो अवसरका रुपमा तिजलाई लिने गर्छन् । माइतघर पुगेका चेलीहरु धार्मिक विधिअनुसार आफन्त र साथीसंगी मिलेर पञ्चमी पूजा गर्ने, मिठो मसिनो बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । हुनत तिज हिन्दु नारीहरुको पौराणीक पर्वका रुपमा मानिँदै आएको छ । तर, पौराणिक पर्वले विस्तारै रुप–रंग बदल्दै गइरहेको छ । धार्मिक विधि फेरबदल आउन थालेको छ । साथै पर्व मनाउने शैली र तौर तरिकामा परिवर्तन आउन थालेको छ । वास्तवमा तिज ‘स्मार्ट’ र ‘मोर्डन’ बन्दै गइरहेको छ ।

अनि ग्ल्यामरस साडी
नेपाल र नेपालीहरुको पहिचान भनेको चौबन्दी चोलो र फरिया अनि दौरा सुरुवाल र ढाका टोपी हो । नेपाली समाजमा पहिले पहिले साडीलाई महिलाहरुको लाज ढाक्ने उपयुक्त पहिरनको रुपमा लिइन्थ्यो । साडीले धपक्कै शरीर ढाकेपछि महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो । तर, पछिल्लो समयमा साडी पहिरन गर्ने तरिका बदलिन थालेको छ । कुनै बेला ट्रेडिसनल आउटफिट साडी यतिबेला ग्ल्याम्मरस बन्न थालेको छ । तिजका बेला आधुनिक महिलाहरुले लगाउने साडीको स्टाइल हेर्दा उहिले लगाइने चौबन्दी चोली र साडीप्रतिको मोह घटदै गएको पाइन्छ ।

बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूमा खुला नभएको ब्लाउस नलगाए हिजोआज साडीको गरिमा नै घट्न थालेको भान हुन्छ । साडी लगाउँदा नाभि र पिठ्यू देखाउने होडबाजी चल्न थालेको छ । हिन्दु धर्मावलम्बी नारीहरुलाई लाज ढाक्न मात्र होइन परम्परा धान्न पनि साडीको पहिरन अनिवार्य मानिन्छ । तर, पछिल्लो समयमा साडी लगाउने तौरतरिका बदलिएको छ । हिन्दु नारीहरुले साउन महिनामा हरियो, तीज र दसैँमा रातो साडी लगाउने गर्छन् । हुनतः हिन्दु नारीहरुको सौन्दर्यको प्रतिकका रुपमा साडी र गरगहनालाई लिने गरिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरुलाई सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । यस्ता साडी पहिरिएर तिजे भाका नाचिएन र तस्बिर फेसबुकमा पोष्ट गरिएन भने पाखेको संज्ञा पाइन्छ भन्ने त्रास छ ।

अस्सीको दशकमा बलिउडका नायिकाहरुले साडी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ सहरमा पनि तरिका बदलिएको हो । हुन पनि बलिउडका नायिकाहरु साडी पहिरनका मामला ट्रेड सेन्टरकै रुपमा गनिन्छन् । बलिउडमा ५० को दशकदेखि साडीको रंग रुप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ । ५० को दशकमा बैजयन्ती माला, माला सिन्हालगायतका अभिनेतृहरु सिम्पल साडीमा सिल्भर स्क्रिनमा देखा परेका थिए । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्स परिवर्तन भएर गएको छ ।

तिजका भाकामा आधारित कतिपय म्युजिक भिडिओमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरुलाई पूर्णरुपमा ग्ल्याम्मरस बनाएको छ । तिजका अवसरमा कतिपय बुटिकहरुमा साडी लगाउने तरिका सिक्न पाइन्छ । जसले नेपाली महिलाहरुलाई सहज बनाएको छ । ट्रेडिसनल साडीहरु पनि विकिनी ब्लाउजमा लगाए पछि बोल्ड र ग्ल्याम्मरस बन्ने गर्छ । नेट जालीदार तथा हलुका साडीहरु साथै बनारसी साडी नेपाली महिलाहरुका रोजाइ हुन् । त्यसवाहेक सिल्क, सिफोन, नेट, लेहेंगा, जर्जट साडी पनि नेपाली नारीहरुका लागि छनोटमा पर्छन् । हिन्दु महिलाहरुले भाकल पुरा गर्न मन्दिरमा साडी चढाउने प्रचलन पनि छ । तिजमा सजिएका कतिपय नारीहरुले साडी लगाउने तौरतरीकाले पनि साडीलाई ग्ल्याम्मर, बोल्ट फेसनका रुपमा स्वीकारेको पाइन्छ । युवतीहरुभन्दा पनि उमेर ढल्केका महिलाहरुले साडी लगाउने तरिकालाई परिवर्तन गर्दै लगिरहेका छन् । वयस्क महिलाहरु साडीमा धेरै सेक्सी र बोल्ड देखिन थालेका छन् ।

लेहेंगा र कुर्तामा स्मार्ट
लेहेंङा र कुर्ता पहिरिएकी नारी हिजोआज स्मार्ट मानिन्छिन् । तिज वा अन्य चाडपर्व आएपछि यसको ब्यापार चम्किन्छ । व्यापारसँगै नेपाली महिलाहरु पनि चम्किन्छन् । मोर्डन लेहेंगा र कुर्ता लगाउने प्रतिस्पर्धा नै चल्छ । प्रायजसो तिजका बेला यसको व्यापार धेरै हुन्छ । तिजलाई लक्षित गरी भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, चीनलगायतका देशबाट महँगा कुर्ता तथा लेहेंगाहरु नेपाली बजारमा भित्रिने गर्छन् । तिज मात्र नभई दसैँ तिहारका बेला बहुमूल्य पत्थर, सितारा, जरी, चाँदी र सुनको जलपका साथै अतिरिक्त सज्जा गरिएका कुर्ता सुरुवाल र लेहेंगाको माग अत्याधिक बढ्छ ।

दुई दिनको पर्व महिना दिनसम्म
उहिले गाउँघरमा माइत आएका साथीसंगीहरु मिलेर पाटी पौवा र चौतारोमा भेला भएर तिजे भाका गीत गाउँदै दर खाने प्रचलन थियो । मादल र ताली पड्काएर भजन र सिलोकमा रमाइलो गर्ने गरिन्थ्यो । यद्यपि, कतिपय गाउँहरुमा यस्तो चलन जीवितै छ । पौराणिक कालदेखि चलिआएको परम्परालाई जोगाउने प्रयास गरिन्थ्यो । माइत आएका चेलीहरु चाँडै आफ्नै घर नपुगे श्रीमानको हप्की सहनुपर्ने बाध्यता थियो । तर, समयानुकुल केही वर्षयता तिज एक महिनासम्मै मनाउने प्रचलन बढेको छ । रेष्टुरेन्ट, डिस्कोबार, पार्टी प्यालेसहरुमा दर खुवाउने होडबाजी हुने गरेको छ ।

राता साडी र गरगहनाको होडबाजी गर्न महँगा स्थानमा दर खुवाउने प्रचलन बढन थालेको छ । एक दिन माइतीमा आएर खाइने दर महिनौँ अघिदेखि खान र खुवाउन थालिएको छ । विभिन्न संघसंस्था र संगठनका महिलाले तिजको दर खाने नाममा चन्दा उठाउने, महँगा हल र पार्टी प्यालेस बुक गर्ने परम्परा बसेको छ । उनीहरूले यसलाई स्वतन्त्रता भन्न रुचाएका छन् । विशेष गरेर सहरी क्षेत्रमा दिनहुँ जसो पार्टी प्यालेस, होटलदेखि तारे होटलसम्म र डिस्कोमा दर खाने र खुवाउने भन्दै धेरै रकम खर्च गर्ने प्रचलन बढेको छ । जसका कारण तीज महंगो र भद्दा बन्दै गइरहेको छ ।

मोर्डन भाका
तिजमा गाउने गीतको आफनै महत्व र विशेषता छ । धार्मिक र पौराणीक शब्दहरुको संयोजनमा तयार भएका तिजे भाकाले धेरैलाई प्रफूल्लित पार्छ । उहिले तीजमा महिलाले मात्र गीत गाउने प्रचलन थियो । महिला मात्रै नाच्ने गर्थे । गीतमा गाँउ–ठाउँका घटना, चेलीबेटीका दुःख, पीडा र व्याथा, मुलुकका घटनाक्रम समेटिन्थे । तर, हिजोआज पुरुषले पनि तीजका गीत गाँउन थालेका छन् । अन्य दोहोरी गीतमा जस्तै केटाकेटी कम्मर मर्काइ मर्काइ नाच्ने प्रचलन बढेको छ । दोहोरी गीतमा जस्तै केटाकेटीले मायाप्रिति गीत गाउँछन् । केटा र केटी नारिएर नाच्ने प्रचलन बढ्दै गइरहेको छ । अहिलेको प्राय तिजका गीतमा तिजका लय नै भेटिँदैन । तीजको भाका, लय र शब्द बिगारेर गाइन्छ । पहिलेको गीतमा पुरुषको स्वर भएपनि चेलिबेटी लिन जाने, माइतीसँगको सम्बन्ध, आमाबुबाको सम्झनाका कुरासँग संवादको रुपमा प्रयोग हुन्थ्यो ।

पहिलेको गीतमा चेलिबेटीका मर्मस्पर्षी भावना समेटिएको हुन्थ्यो, तर आजभोलि यस्तो गाउन छाडिएको छ । पुराना तिजका गीतमा पराइघर जाँदा उत्पन्न हुने विभिन्न जिम्मेवारी, तनाव र समस्या समेटिएको हुन्थ्यो जुन आजभोलि हराउँदै गएका छन् । तिजको गीतमा घटनाप्रधान र सृजनात्मक अभिव्यक्ति हुनुपर्ने मान्यता राखिए पनि यस्तो पाउन छाडिएको छ । सांगीतिक बजारमा निस्किएका तिजका गीत खर्चिलो र भड्किलो हुन थालेका छन् । सन्देश दिने खालका तीजका गीत सांगीतिक बजारमा न्यून संख्यामा आउने गरेको छ । तिजका गीतहरु समयानुकुल परिवर्तन भइरहेका छन् ।

महिला अधिकारका कुरा
तिज पर्वमा गाउँको चुल्होदेखि तारे होटलको किचेनसम्म महिला अधिकारको कुराले स्थान जमाउन थालेको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतिक जागरणले महिलाहरुले देशको हरेक तह तप्कामा अधिकारको खोजी गर्ने अवसर पनि तिज बनेको छ । तिजमा आयोजना गरिने दर खाने कार्यक्रमहरुमा धेरैजसो महिलाअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधीहरुले चर्को भाषण गरेर अधिकार र अवसरका कुरा गर्ने गरेका छन् । उहिले तिज मनाउँदा उल्लास र उमंग कसरी बनाउने र धार्मिक तथा पौराणीक पक्षलाई कसरी पालना गर्ने भन्ने विषयले प्राथमिकता पाउँथ्यो । तर, समयक्रमसँगै लैङ्गिक अर्थात् महिला हिंसाका विरुद्ध आवाज सुनाउने अवसरका रुपमा पनि तिजलाई लिन थालिएको छ । यसबर्ष तीजलाई बलात्कार विरुद्धको अभियानका रुपमा मनाइँदैछ ।

दर खुवाउने राजनीति
नेपालका सबै राजनीतिक पार्टीका महिला विभागहरु छन् । ती विभागले तिजमा दरखाने कार्यक्रम राख्ने वार्षिक कार्यतालिकामै समावेश गर्छन् । चन्दा उठाउँछन्, टिकट बिक्री गर्छन् र दरखाने कार्यक्रम आयोजना गर्छन् । वास्तवमा राजनीतिक दलहरुलाई तिज पर्व संगठनको गतिविधि गर्ने दरिलो प्लेटफर्म बनेको छ । राजनीतिक बहसको चौतारी जस्तै बन्न थालेको छ तिज । सामाजिक महत्व बोकेको यो पर्वलाई अहिले महिलाहरूको विचार र भावनामा परिवर्तन ल्याउने मात्र होइन संवेदना जागृत गराउने अवसरका रूपमा पनि लिन थालिएको छन् ।

भावना साटासाट तथा रमाइलो भेटघाटका रूपमा लिइने तिजलाई अब सामाजिक एवम् राजननीकि जागरण ल्याउने अवसरका रूपमा प्रयोग गर्ने क्रम बढेको छ । यति बेला विभिन्न महिलावादी संघ, संगठन तथा राजनीतिक दलहरूले छुट्टाछुट्टै कार्यक्रमको तयारी गरिरहेका छ । पीडा बिर्साउने वा चेली–माइतीबीच भेटघाट गराउने सांस्कृतिक पर्व तिजलाई राजनीतिक भाषण गर्ने थलोका रूपमा विकास गरिँदै लागिएकोमा कतिपय मानिसहरु खुसी नभए पनि धेरैले यसलाई राजनीतिक जागरणको अवसरका रूपमा हेरेका छन् ।

त्यतिमात्र नभएर राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि अधिकारको वकालत गर्ने अवसरका रूपमा पनि तिजको सदुपयोग गरेको बताइरहेका छन् । तिजलाई धार्मिक तथा सांस्कृतिक मान्यता स्थापित गर्ने मात्र नभै राजनीतिक जागरण सिर्जना गर्ने अवसरका रूपमा लिइए पनि राजनीतिक अखडाका रुपमा बुझ्नेहरु पनि छन् । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...