तिज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

20
  • आकांक्षा धामी

काठमाडौँ, २१ भदौ । पछिल्लो समय नेपाली समाजमा तिज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तिज गीतमा पनि विकृति भित्रिएका छन् ।

विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निर्णय गरिसकेको छ भने तिज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि विज्ञप्ति निकाल्दै माफी मागेकी छन् ।

शान्तिश्रीले गाएको अहिलेको विवादित गीत हो ‘काले के–के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो …’ यो गीत नसुन्ने अहिले कमै होलान् । तर, यो गीत एकान्तमा मात्र सुन्ने खालको छ । यसको भिडियोले त बजारमा तहल्का नै पिटेको छ ।

विवादित हुँदा गायिका शान्तिलाई मन पराउनेहरु पनि आक्रोशित नै भएका छन् । शान्ति सबैको नजरमा राम्रो गायिकाको ट्याग लागेकी लोकप्रिय गायिका हुन् तर पछिल्लो समय गीत विवादित हुँदा उनलाई दर्शक स्रोताले आलोचना गरिरहेका छन् ।

एउटा गीत विवदको मुखमै रहेका बेला शान्तिश्रीको अर्को गीत पनि उहीँ पाराको छ । भर्खरै मात्र बजारमा आएको शान्तिश्रीको अर्को गीत ‘जवानीले पोल्यो …।’

तर, उनको नयाँ गीत ‘जवानीले पोल्यो’ मा पनि पूर्ववत् शैली र प्रस्तुति देखिएको छ । गीतको शब्द, भिडिओ र कोरियोग्राफी अघिल्लो गीतसँग मिल्दोजुल्दो छ । मोडल र पहिरन पनि उस्तै छन्, र उत्तिकै आकर्षक नृत्य प्रस्तुत गरिएको छ ।

विश्लेषकहरूका अनुसार यो गीत अघिल्लो जत्तिको ‘क्याची’ नभए पनि, यसको शैली र प्रस्तुतिले फेरि विवाद निम्त्याउन सक्ने देखिन्छ । शान्तीश्रीको यो कदमले उनको पूर्व प्रतिबद्धता र कलाकारको सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।

अहिले तिजकै लागि भनेर निकालिएका एकपछि अर्को गीत विवादित बनिरहेका छन् । तिजको अर्को ‘गुलेली तन्कियो’ बोलको गीत पनि निर्विवाद छैन । यो गीतको भिडियोमा अभिनेता राजेश हमाल पनि देखिएका छन् ।

भदौ तेस्रो साता मनाइने तिज ताकेर गत असारदेखि नै गीतहरू आइरहेका छन् । कुनै गीत दर्शक, स्रोताले मन पराएर चर्चामा छन् । कतिपय चाहिँ शब्द, दृश्याङ्शका कारण विवादित छन् । तिज भनेर ल्याइएका अक्सर गीत तिजको नभएर रत्यौलीको झल्को दिएको भन्दै आलोचना भइरहेको छ ।

यस्तै, नेत्र अर्यालको शब्द, भगिरथ चलाउने र कविता खत्रीको आवाजमा रहेको ‘दिउँला बरी लै’ बोलको गीत रिलिज भएदेखि नै विवादमा छ । दुई साताअघि कविता खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको कमेन्ट बक्स गालीले भरिएको छ । अधिकांशले गीतको शब्द मन पराएका छैनन् ।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तिजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन् ।

यस्तै, एउटा उदाहरण हो जो आफूलाई गायक भन्दा पनि मोडल भन्न रुचाउने गायक दुर्गेश थापाले तीन वर्षअघि गाएको ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ बोलको गीत डेढ करोड पटकभन्दा बढी हेरिएको छ । चर्चामा आउनकै लागि तीजको अवसरमा गीत ल्याउनेहरु उत्तिकै छन् । छोटो समयमा चर्चामा आउनका लागि मौलिकपनालाई ध्यान नदिँदा यस्ता गीतहरु परिवारसँग बसेर हेर्न नसकिने अवस्था छ ।

वर्षभरिका घटना, नारीका पीर, वेदना तथा सन्देशमूलक सामाग्री भन्दा पनि अनावश्यक तडकभडक शैलीको सिकोले गीतमा विकृति फैलाएको छ । यस्तै गीतका कारण मौलिकतामा ध्यान दिने वास्तविक तिजे भाका ओझेलमा पर्न थालेका छन् ।

तिजको मौलिकतालाई समेट्न नसकेको गुनासो अहिले चर्को रुपमा उठ्न थालेको छ । यसरी तिजका भाकाहरुमा आफ्नोपना हराउँदै जाँदा यो चिन्ताको विषय हो । यसको नियन्त्रण गर्दै तिजको मौलिकता जोगाउनु आवश्यकता देखिन्छ ।

वरिष्ठ लोक गायक रामप्रसाद खनाल तिजको मौलिकपन वर्षभरि घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर सोही अनुसार महिला पुरुष सँगै गाउने सँगै नाच्ने सँगै बजाइदिने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन् ।‘तिजको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन । कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हाबी भएको छ,’ उहाँले भन्नुभयो,‘कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन । देशमा लोक गीत, दोहोरी गीत र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएको कारणले मैले बोल्नैपर्छ ।’

तिज गीतले पहिला र अहिले निकै फरक भएको भए पनि संस्कृति विनाशको बाटो गइरहेको उहाँको चिन्ता छ । एकैछिन भाइरल भएर केही नहुने भएकाले लोकको प्रिय बन्न उहाँ सुझाव दिनुहुन्छ । ‘दर्शकहरुले पनि यस्ता अपाच्य, विकृतिपूर्ण गीतहरुलाई होइन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा सोच्नुपर्छ,’ उहाँले भन्नुभयो ।

तिज खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने गौरव बोकेको संस्कृति हो । सदियौँदेखि चलिआएको मौलिक पर्वमा अहिले भने खोक्रोले भरिएको जस्तो लाग्न थालेको छ । हजुरआमा, आमाहरूले तिजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत् व्यक्त गर्ने गरेको पाइन्छ ।

वर्ष दिनसम्म घरमा भोगेका दुःख, पतिको माया सबै गीतैले छताछुल्ल पार्ने चलन गाउँघरतिर अझै जारी छ । तिजमा माइत आउँदा सबै तीता अनुभव बिर्सिने गरी आत्मियता साट्ने, मीठो–मसिनो खाने, चोखो दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने अनि चौतारी, स्कुल, चोकमा भेला भएर नाचगान गरेर तिज मनाउने चलन हराउँदै गएकोमा चिन्ता बढेको छ ।

तर, हिजोआज तिज महँगा होटल र पार्टी प्यालेसमा गर्न थालिएको छ । परम्परामा परिवर्तन आएर संस्कार नै मेटिनेगरी गीतहरु बजारमा आएका छन् । बुवाआमा दाजुभाइसँग बसेर सुन्नै नसकिने तिजका भाका युट्युबमा छ्यापछ्याप्ती छन् ।

आफ्नो संस्कारलाई अतिरन्जित गर्दै अहिले मौलिक तिज हराएकोमा चिन्ता बढ्न थालेको छ । बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् ।

तिज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । पहिला लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेका छन् । महिलाले सासु–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिका रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।

समय–परिस्थिति फेरिएकाले माथिको भाका अहिलेका लागि असान्दर्भिक प्रायः छ । जानकारहरूका अनुसार अब तीजका गीत विरह, वेदनाकै हुनुपर्छ भन्ने रहेन तर पर्वको मर्मलाई गीतमा मर्न दिन हुँदैन । अचेल नेपाली मौलिकता झल्काउने शब्द, आफ्नोपन सम्झाउने परिवेशभन्दा भड्किला र उत्ताउला गीत आउने क्रम बढेको छ ।

गीतकार रुद्रप्रसाद अधिकारीले हरितालीका तिज नेपालमा धेरै मान्यता दिए पनि पछिल्लो समय पर्व समाजभन्दा बाहिर गइरहेको दुःख व्यक्त गर्नुहुन्छ । तिज पर्व र शास्त्रको रुपलाई कुरुप बनाइँदै लगिएको उहाँको चिन्ता छ ।

‘तिजमा मेला लगाउने र महिलाहरु दरमा होइन दारुमा रमाइरहेका छन् । पर्व र शास्त्रको रुपलाई कुरुप बनाइँदैछ । समाज एउटा नैतिक चरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो अहिले त्यो सम्पूर्ण बन्धनहरुबाट समाज खुल्ला हुँदै गएको छ,’ उहाँले अगाडि भन्नुभयो,‘अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ ? न कुलको परम्परा छ ? न लोकआचार छ, कुलआचार, शास्त्राचार केहीपनि छैन । समाज विस्तारै स्खलित हुँदै गइरहेको छ । यस विषयमा सजक र सचेत बन्नैपर्छ ।’ -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...