स्वास्थ्य उपचारमा छरिएको श्रोत एकीकृत गर्ने हो भने स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिन्छ : मन्त्री पौडेल

46

काठमाडौँ, २० भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताउनुभयो ।

हाल राज्यको मातहत रहेका सबै बिमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिले भन्दा श्रोत बढ्ने भन्दै सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बिमामा आबद्ध भएर योगदान गर्न सके श्रोत पनि बढ्ने बताउनुभयो ।

मन्त्री पौडेलले राज्यको योगदान रकम समेत थप गर्न र करमार्फत् श्रोत थपेमा स्वास्थ्य बिमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले श्रोत सुनिश्चिततासँगै बिमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बिमा प्रभावकारी बन्ने बताउनुभयो ।

हालको १ लाख बिमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बिमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताउनुभयो । मन्त्री पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँगसमेत आग्रह गर्नुभयो ।

उहाँले अस्पतालहरुमा जनशक्ति अभावको समस्या रहेको भन्दै नयाँ खोल्नुभन्दा सातवटै प्रदेशका अस्पतालमा विशिष्टिकृत सेवा थप गरेर भएकै जनशक्तिबाट विशिष्ट उपचार दिन प्रयास थालिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य जनशक्ति अभावको समस्या समाधान गर्नका लागि दरबन्दी थप गर्न प्रस्ताव लगिए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआउने गरेको गुनासो गर्दै मन्त्री पौडेलले दरबन्दी थप गर्न नसक्दासम्म भएकैलाई बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार लागेको बताउनुभयो ।

मन्त्री पौडेलले संघ मातहतका अस्पतालको सेवा प्रभावकारी गराउन प्रयासले काम थालेको भन्दै लाइन घटाउनका लागि अनलाइन प्रणाली सुरु भएको जानकारी दिनुभयो ।

उहाँले अपरेशनको कुर्ने समय घटाउनका लागि पनि भएकै जनशक्तिलाई सुविधा तथा सिफ्ट बढाउने प्रयास थालिएको समेत जानकारी दिनुभयो ।

बैठकमा बोल्ने सांसदहरुले मन्त्री पौडेलले थालेको स्वास्थ्य सुधारका प्रयास सकारात्मक भएको भन्दै सफलताका लागि शुभकामना दिए ।

Share This:
सम्बन्धित खबर
Loading...