पलेशालाई आज नगर परिक्रमा गराइने

16

काठमाडौँ, १९ भदौ । पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यो नगर परिक्रमा आयोजना गरेको हो ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

यो पदकले नेपाली खेलकुद नयाँ इतिहास कायम गरेको छ । पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन् ।

आज बिहान ८ बजे पलेशा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उनलाई विमानस्थलमै भव्य स्वागत गरिनेछ, जसमा राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । पलेशालाई विमानस्थलमा स्वागत गरेपछि बिहान साढे ८ बजेबाट नगर परिक्रमा सुरू गरिनेछ ।

नगर परिक्रमाको रूट विशेष रूपमा तयार पारिएको छ । यो रूट विमानस्थलबाट सुरू भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिने छ । नगर परिक्रमाको समयमा पलेशालाई नेपाली झन्डासहितको विशेष गाडीमा सवार गराइने छ ।

नगर परिक्रमाको अन्त्यमा राखेपको प्राङ्गणमा विशेष सम्मान कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरू, पदाधिकारीहरू, खेलाडीहरू, र उनका प्रशिक्षकहरूको उपस्थिति रहनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...