मधेस युनाइटेडले भित्र्यायो भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात

8

काठमाडौँ, १८ भदौ । मधेस युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा भारतीय टोलीकी कप्तान एवम् सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ ।

योसँगै मधेस युनाइटेडले इडब्लुभिएलका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मधेस तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ ।

मधेसले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो ।

आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौँको दशरथ रंगशालमा कभर्डहलमा हुने इडब्लुभिएलका लागि मधेस युनाइटेड व्यग्र प्रतिक्षामा छ ।

केही समयअघि काठमाडौँमै भएको काभा महिला भलिबल नेसन्स लिगका उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् ।

जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीको अनुबन्धपछि मधेस युनाईटेडमा खेलाडी संख्या ११ पुगेको छ । नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...