सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ

14

काठमाडौँ, १६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथिको छलफलमा उहाँले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिविधि छ त्यसका सुधार नगरिकन उद्देश्य पूरा गर्न नसकिने बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल टेलिभिजनको आजसम्म जे जस्तो गतिविधि छ । त्यसका सुधार नगरिकन उद्देश्य पनि पूरा गर्न नसकिने भयो । सार्वजनिक सेवा प्रसारणको नीतिको संशोधन गर्नुपर्ने छ । आधुनिक प्रविधिको विकास भइसक्यो त्यसैले यो त्यहीअनुसार चल्न सक्नुपर्‍यो त्यसैले पनि यो संशोधनमा ल्याएको हो ।’

उहाँले सार्वजनिक सेवा प्रसारण संस्थाहरु खोल्दा नितान्त सेवाका लागि मात्र खोलिएको भए पनि निजी क्षेत्र पनि समावेश भएसँगै प्रतिस्पर्धामा जान नसकेको बताउनुभयो ।

सरकारी सेवाको लागि गठन गरेको संस्था राम्रोसँग सेवा पुर्‍याउन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने र व्यवसायिकताको पनि विकास गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...