काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातौँ कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएकाले नेपाल सरकार तथा प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको हो ।
यसैगरी नयां रंगाशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गर्ने र उक्त रंगशाला निर्माणार्थ जग्गा प्राप्तिको लागि सरकारसंग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।
यसैगरी, दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
दशरथ रंंगशालाको मैदान मर्मतका लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।