काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नका लागि कर्भडहल हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो धेरै ठुलो कुरा हो । हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा उचाइ छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन । थप उचाइ छुनको लागि हामीलाई अनुकुलता र सिक्नका लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नका लागि कर्भडहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ तर कर्भडहल छैन ।’
साथै उहाँले काठमाडौँमा मात्र होइन सबै प्रदेशमा कर्भडहल हुन जरुरी रहेको बताउनुभयो । उहाँले जिल्ला जिल्लामा कर्भडहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताउनुभयो ।
साथै उहाँले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी बिग्रेको बताउनुभयो। उहाँले दशरथ रंगशाला जस्तो बिग्रेको मैदान कतै नदेखेको जिकिर गर्नुभयो ।