काठमाडौँ, ११ भदौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको अर्थोडक्स चिया हाम्रो परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा हो । नेपाली अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाहरूको बीचमा उभिन सक्ने सम्भावना राख्दछ । अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नु पर्दछ । यसको लागि चियाको अक्सन विकल्प हुन सक्ने महसुस गरेको छु । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन पहल गर्नेछु ।’
त्यस्तै, मन्त्री अधिकारीले यस्ता चिया प्रदर्शनी कार्यक्रमले स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्धत गर्नेछ विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले नेपाली चियालाई उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगीहरू बाध्य हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली उत्पादनलाई अन्तरिक बजारमा यसको खपत वृद्धि गर्न यस प्रकारको कार्यक्रम आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम साथै निरन्तरता दिनलाई प्रोत्साहन गर्ने छ । यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रा नागरिकहरूलाई नेपाली चियाको उच्च गुणस्तरको बारेमा जागरूकता पैदा गर्नेछ ।’
निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको समेत उहाँको भनाइ छ ।