काठमाडौँ, ८ भदौ । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिनुभएको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिनुभएको हो ।
शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुग्नुभएको हो ।
सोही क्रममा गृहमन्त्री लेखकले घटना दुःखद् भए पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सडक दुर्घटनाहरु धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रुपमा आउनुभएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले मेहनतका साथ उद्धार गरेर केही मानिसलाई बचाउन सफल हुनु भएको छ ।’
यस्तै, उहाँले घाइतेहरुको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताउनुभयो ।
शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।