काठमाडौँ, ८ भदौ । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौँ आइपुगेकी छिन् ।
तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्य अवस्था बुझ्न काठमाडौँ नेपाल आएकी हुन् ।
काठमाडौँ आएलगत्तै उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । यस्तै, १६ जना घाइतेको उपचार भइरहेको छ ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ जना यात्रु सवार थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ ।
शव परीक्षण सकिएपछि आजै राज्यमन्त्री खड्सेको नेतृत्वमा दुर्घटनामा ज्यान गुमाएको शव भारत लगिने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रमेश लेखकको सचिवालयका जन भट्टका अनुसार भारतीय टोलीसँग गृह मन्त्रालयमा ब्रिफिङ गरिनेछ ।
‘गृह मन्त्रालयमा घटनाबारे ब्रिफिङ गरिने छ । त्यसपछि भारतीय टोली भरतपुर जाने र त्यहीँबाट भारतीय एयरक्राफ्टले शवहरु लिएर भारत फर्किने तालिका छ,’ भट्टले भन्नुभयो ।