काठमाडौँ, ६ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फिर्ता हुनुभएको छ । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्कनुभएकी मन्त्री राणा बिहीबार स्वदेश फिर्ता हुनुभएको हो ।
स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवम् आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताउनुभयो ।
यस्तै, उहाँले भारतका विदेशमन्त्री डा.एस जयशंकरबीचको द्विपक्षीय भेटघाटमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको बताउनुभयो ।
उहाँले यसका अलावा द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको बताउनुभयो ।
साथै, उहाँले भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक, घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउने बताउनुभयो ।
उहाँले भ्रमणको अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका विदेशमन्त्री एवम् भारत सरकार र सम्बन्धित पदाधिकारीहरूप्रति धन्यवाद ज्ञापन समेत गर्नुभयो ।