काठमाडौँ, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
यसअघि २४ घन्टे स्पष्टीकरण सोधेको रास्वपाले बुधबारको केन्द्रीय समिति बैठकबाट साधारण सदस्यता किन नखोस्ने भनेर अन्तिमपटक स्पष्टीकरणको मौका दिने निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
‘तपाईंलाई साधारण सदस्यबाट किन निष्काशन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने र सफाइको मौका दिने निर्णय गरिएको हो । यसअघि सचिवालयले त्यस्तो स्पष्टीकरण सोधेको थियो,’ झाले भन्नुभयो, ‘२४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ र सफाइको मौका दिनुपर्छ भन्ने केन्द्रीय सदस्यहरूको सुझावको आधारमा त्यो निर्णय गरिएको हो ।’
यसअघि पनि ‘तपाईलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले सोधेको स्पष्टीकरणको जबाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाउनुभएको थियो । उल्टै सभापति लामिछानेको राजीनामा माग्दै जबाफ फर्काएपछि पार्टीबाट हटाउनुअघि अन्तिमपटक स्पष्टीकरण सोधेको हो ।
गत जेठ ६ गतेदेखि असारको ५ गतेसम्म रास्वपाका महामन्त्री रहेका ढकाल देश दौडाहामा जानुभएको थियो । उहाँले ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाउनुभएको थियो ।
प्रतिवेदन बुझाउनुअघि मिडियामा पार्टी कमजोर बनेको, यस्तै अवस्था रहे अर्को चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल हुने, स्वतन्त्र निर्वाचितहरूसँग मिलेर पार्टी बलियो बन्नुपर्नेलगायत प्रतिवेदनका अंश चुहाएपछि उहाँलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतबाट निलम्बन गरिएको छ ।