क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री चौधरी

28

काठमाडौँ, ४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘क्रिकेट रंगशालाहरू बनाउनका लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु । धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु ।’

उहाँले क्रिकेटका लागि धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाउनुभयो ।

मन्त्री चौधरीले नेपालका मुख्य सहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्‍दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘अब नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ,’ उहाँले भन्नुभयो, ‘यसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ । यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ ।’

नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठुलो टेवा पुग्‍नेमा उहाँको जोड थियो ।

टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुँदै छ । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...