काठमाडौँ, ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वको अलग्गै महत्त्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र बाध्छन् । घर घरमा पनि पूजा आरधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर, नेवार समूदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरुले विशेषगरी क्वाँटी पूर्णिमा भन्छन् ।
जनै पूर्णिमामा ऋषिहरुको पूजा गरिन्छ । ऋषि भनेको रिसर्चर हुन् । ऋषिहरुले बाँच्नको लागि हाम्रो शास्त्रहरुलाई आधार मानेर विभिन्न विधिहरु तयार गरेका छन् । वेद, कर्मकाण्ड ऋषिहरुले नै लेखेका हुन् । कष्यभ, विश्वामित्र, अत्रि, गौतम, भारद्वाज, वाशिष्ठलगायतका ऋषिहरुको पूजा हुन्छ । ब्राह्मण, क्षेत्री, बैष्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु भएपनि सबैले जनै लगाउँदैनन् ।
बाहुन र क्षेत्रीबाहेक अरुले जनै नै लगाउँदैनन् । गिरि, क्षत्री वर्गमा पर्नेहरु प्रायजसोले जनै लगाउँदैनन् । हिजोआज त ८० प्रतिशत बाहुनले जनै लगाउँदैनन् । किनभने हामीले जनैको महत्त्व बुझाउन सकेका छैनौँ । हाम्रो सबैभन्दा ठुलो मन्त्र गायत्री मन्त्र त्यसको महत्त्वको बारेमा बुझाउन सकेनौँ । त्यो कमजोरी हाम्रो हो । ऋषिहरुले धेरै शास्त्र छाडेर गएकाले त्यसलाई सम्झना मात्र गर्नसके राम्रो हुन्छ ।
डोरा लगाउने भन्दैमा पसलबाट किनेर लगाउँदैमा हुँदैन । त्यसका लागि रुद्री गर्नुपर्छ, शिवजीको रुद्री गरिन्छ, मन्त्र पढिन्छ । त्यसपछि मात्र डोरोलाई प्रसादको रुपमा लिने हो । तर, अहिले बिहान ३ बजे मन्दिरमा कोही मान्छे पुग्छ, बाहुनको बस्त्र लगाएको जुनसुकै जातको व्यक्तिसँग डोरा बानिन्छ । कसैलाई मतलव छैन । वस्त्र लगाउँदैमा बाहुन भइँदैन संकल्प पनि गर्न जान्नुपर्छ । ३ बजे मन्दिरमा जान्छ न मुख धुन्छ, न नुहाउँछ त्यस्ता मान्छे गएर दिनभर डोरा बानेर बस्छ । त्यो डोराको के महत्त्व हुन्छ । तपाईको आफ्नो बाहुन छ, घरमा आउँछ भने डोरा लगाउनु नत्र नलगाए पनि हुन्छ ।
कुरा यत्ति हो हामीले जनै सधैँ लगाउनुपर्छ । ऋषिको पूजा गर्दा दायाँपट्टी र पृतिको पूजा गर्दा बायाँ पट्टी लगाउनुपर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरुले के पत्ता लगाएको थियो भने गाईभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन भन्ने हिसाबले नै गाईको पुच्छरमा बाध्नु भनेको हो । जसका कराण हामी स्वर्ग पुग्छौँ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।