देश नाजुक अवस्थामा पुग्यो, बिपीको सिद्धान्त कार्यान्वयन गरौँ : शेखर कोइराला [भिडिओ]

35

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार लेखक तथा साहित्यकार प्राध्यापक डा.कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो आफ्नै पाइला’ र ‘एक्काको जोडा एक्का’ नामक पुस्तकहरू लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लिएर जाने बिपीको सिद्धान्त कार्यान्वयन गर्न नसके नेपाल र नेपाली नै नरहने जिकिर गर्नुभयो ।

देशमा उठ्ने राजश्वभन्दा बढी चालु खर्च हुने गरेको भन्दै कोइरालाले यसमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

‘देश अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको छ । ११ अर्ब राजस्व देशमा उठ्छ । १४ खर्ब खर्च हुन्छ । त्यो पनि विकास खर्चमा नभइ चालु खर्च भइरहेको छ । यसमा सुधार गर्न आवश्यक छ । त्यस्तै संविधानमा समेत केही सुधारहर गर्नु आवश्यक छ । यसका लागि नेपाली कांग्रेसले समेत गहन रुपमा छलफल गरिरहेको छ । सरकारले जसरी पनि संविधानमा सुधार गर्न आवश्यक कुराहरु गरिहाल्नुपर्छ,’ उहाँले अगाडि भन्नुभयो,‘उतिबेला राजनीतिक अवस्था दक्षिण एसियामा हलचल भइरहेका बेला बिपी नेपाल फर्किनुभयो । केही सुधारका काम गर्नुभयो । कांग्रेसको बैठकमा समेत मैले यो कुरा उठाएको छु । राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लिएर जानुपर्दछ नत्र देश र हामी रहँदैनौँ भन्ने बिपीको विचार थियो । अहिलेको राजनीतिक घटनाक्रमहरु हेर्दा पहिलेको जस्तै स्थिति सिर्जना भइरहेको त छैन भन्ने कुरा मनमा लागि रहेको छ ।’

बंलादेशमा घटेको घटनालाई आम नेपालीहरु गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले बिपी नेपाल फर्किनुभएको अवस्थाभन्दा खराब स्थितिमा रहेको बताउनुभयो ।

‘बिपी कोइराला फर्किनुभएको बेलाको भन्दा पनि स्थिति खराब छ कि भन्ने मलाई लागिरहेको छ । यस्तो बेलामा सरकार परिवर्तन गरेका छौँ । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि संसद्का दुई ठुला दलहरु एक ठाउँमा उभिनुपर्छ भन्दै आएका थियौँ । अहिले एमालेको नेतृत्वमा सरकारमा गएका छौँ,’ उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...