काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने हो भने त्यसका लागि स्पष्ट रोडम्याप र एजेण्डा तय गर्ने नेतृत्वलाई सुझाव दिनुभएको छ ।
सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा.संग्रौलाले भन्नुभयो, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गर्यौँ, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन र सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु ।’
त्यस्तै, उहाँले सरकार निरंकुश बन्छ कि भन्ने त्रास बढिरहेकाले कांग्रेस स्वयंले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताउनुभयो । भ्रातृ संगठनहरुको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर संगठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर संगठनलाई चलायमान बनाउन उहाँले माग गर्नुभयो ।
डा.संग्रौलाले नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्ने पनि बताउनुभयो । ‘संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल (टास्क फोर्स)बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ । समितिले तयार पारेको प्रतिवेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरावलोकन गर्दापनि गाउँ गाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्न पनि म सुझाव दिन चाहन्छु,’ उहाँको भनाइ थियो ।
डा.संग्रौलाद्वारा केन्द्रीय समिति बैठकमा प्रस्तुत धारणा
आदरणीय सभापतिज्यू,
सर्वप्रथम मलाई पेशागत तथा बुद्धिजीवी विभाग संयोजनको जिम्मा दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो क्षमताले भ्याएसम्म पार्टीलाई संसारभरि रहेका लोकतन्त्रवादी बुद्धिजीवी तथा पेशागत संगठनहरु जोड्न काम गर्ने विश्व दिलाउन चाहन्छु । केही विभागहरुको कार्य क्षेत्रमा ओभरल्याप हुन सक्ने र विभागको कार्यक्रम सञ्चालन गर्न श्रोत तथा प्राविधिक सहायताको पनि आवश्यक पर्ने भएकाले त्यसतर्फ पनि केन्द्रले सहयोग गरोस् भन्ने आग्रह गर्दछु।
बंगलादेशको आकस्मिक राजनीतिक परिवर्तनको बारेमा साथीहरुले आफ्ना धारणा राखी सक्नुभएको छ। स्वतन्त्र निर्वाचन, स्वतन्त्र प्रेस, सबै जनताले लाभ पाउने गरी हुने आर्थिक वृद्धि र भ्रस्टाचार उन्मूलन कुनै पनि शासनसत्ता टिकाउने आधार हुन्, प्रहरी र सेना होइनन् भन्ने संदेश यो परिघटनाले दिएको छ भन्ने मलाई लाग्छ।
आदरणीय सभापतिज्यू,
यो बेला म हामी सबैका प्रिय स्वर्गीय प्रदीप गिरीलाई सम्झिरहेकी छु। प्रदीप दाजुले पद, पुरस्कार वा कुनै पनि पदको लोभमा नपरी आफूले देखेको कुरा पार्टीको बैठकमा होस् वा सार्वजनिक रुपमा भन्नुहुन्थ्यो । विगत तीन महिनको अन्तरालमा मैले पार्टीका वरिष्ठ साथीहरुसँगै कर्णालीका सबै जिल्ला र मधेसका केही जिल्ला घुम्ने मौका पाएँ । भ्रमणका क्रममा हामीले के बुझ्यौँ भने धेरै कार्यकर्ता एवम् शुभेच्छुकहरु कांग्रेसप्रति त्यति सन्तुष्ट छैनन् । जुन किसिमको नेतृत्व हामीले प्रदेश सरकारमा पठाएका छौँ, अब कसरी कांग्रेसको नाममा भोट माग्ने साथीहरुले भन्नुभयो । पार्टीभित्रको गुटबन्दी वडा, वडामा पुगेको छ । एमालेसँग, त्यो पनि केपी ओलीको नेतृत्वमा गठबन्धन चलाउन हामीले के कस्तो तयारी गरेका छौँ ? कस्तो टिम पठाएका छौँ ? त्यो टिमलाई सघाउने पार्टीको संयन्त्र खै ? जिल्लाका साथीहरु अरु पनि कैयौँ कुरा गर्नुहुन्छ । तर, ती सबै जस्ताको तस्तै यहाँ राख्न म असमर्थ छु ।
आदरणीय सभापतिज्यू,
कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसकेका भ्रातृ संगठन चलायमान र क्रियाशील नहुँदा देशभर संगठनको गतिविधि सुस्त छ । जिल्ला, नगर, गाउँमा चहलपहल देखिँदैन । केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति बनाएर चलायनमान बनाउने भनिए पनि हाम्रो अवस्था सन्तोसजनक छैन् । कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठनहरू तदर्थवादमा चलिरहेका छन् । नेविसंघ, तरुण दल, महिला संघ जस्ता संगठनहरुमा विवाद चुलिएको, कित्ता काटाकाट गर्ने क्रम बढेको र एकले अर्काको अस्तित्व नस्वीकारेको अवस्था छ । व्यवस्थापन फितलो हुँदा कार्यकर्ताहरुमा निराशा छाएको छ । तदर्थ समितिले निर्धारित समयावधि सकिएको लामो समय बितिसक्दा पनि जिम्मेवारी पूरा गर्न सकेका छैनन् । यस्तो अवस्थामा पटक–पटक थप गरेको समयावधिभित्र पनि महाधिवेशन नगर्ने भ्रातृ संगठनहरुप्रति केन्द्रीय समितिले कडा निर्णय लिन ढिला भइसकेको छ ।
आदरणीय सभापतिज्यू,
म केही बुँदागत सुझाव पनि दिन चाहन्छु।
१. दुग्ध विकास संस्थानले अहिले पनि किसानहरुलाई करिब दुई अर्ब रुपैयाँ तिर्न बाँकी रहेको अनुमान छ । एउटा कार्यतालिका बनाएर निश्चित समय सीमाभित्र किसानहरुको रकम भुक्तानी गर्न र अनावश्यक खर्च तथा चुहावट रोकेर संस्थानको व्यवस्थापन अबिलम्व सुधार गर्न यो बैठकले सरकारलाई आग्रह गर्न म सुझाव दिन चाहन्छु।
२. नेपालमा अहिले सडकमात्रै हैन, आकाश पनि असुरक्षित हुँदै गएको छ । गत असार २८ गते नारायणगढ़ मुग्लिङ्ग सडक खण्डमा गएको पहिरोमा परी बस हराइरहेका दुईवटा यात्रुवाहक बस र तिनमा यात्रा गरि रहेका २५ जना यात्रुको स्थिति अज्ञात छ । म माननीय गृहमन्त्रीज्यूलाई घटनास्थलको अवलोकन गर्न र खोजी कार्यलाई निरन्तरता दिन निर्देशन दिन आग्रह गर्न चाहन्छु । बर्सेनी सडक दुर्घटनामा हजारौँ नेपालीको ज्यान जाने गरेको छ, अंगभंग हुने गरेको छ । त्यसैले सडक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न केन्द्रीय समितिको यो बैठकले सरकारको ध्यानाकर्षण गरोस् भन्ने पनि आग्रह गर्दछु।
३. हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गर्यौँ, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन र सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु।
४. हाल प्रमुख प्रतिस्पर्धी दल एमालेसँग सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्छ । संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरवलोकनका लागि विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय कार्यदल (टास्क फोर्स) बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ । समितिले तयार पारेको प्रतिवेदनमा दलहरु सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ । पुनरावलोकन गर्दापनि गाउँ गाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्न पनि म सुझाव दिन चाहन्छु ।
५. विशेषगरी मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, निर्देशक तथा दायित्वको प्रगतिशिल कार्यान्वयन, तीन तहका सरकारमलाई संविधानले दिएको अधिकार कार्यान्वयन भए नभएको, मुलुकको शासकीय स्वरुपमा परिवर्तन, राष्ट्रपति र उपराष्ट्रपति पदमा भिन्न लिंग हुने नहुने, निर्वाचन प्रणालीमा सुधार, मन्त्रिपरिषद् गठन र विश्वास अविश्वासको प्रावधानलगायत दर्जनौँ विषयमा पुनरावलोकन गर्न कांग्रेस तत्पर हुनुपर्छ । आम निर्वाचनमा प्रत्यक्षतर्फ पनि ५० प्रतिशत महिला उम्मेदवारी दिनै पर्ने व्यवस्था गरिनुपर्छ।
६. संसद्का ठुला दुई दलले सरकारको नेतृत्व गरिरहेकाले यसमा नेपाली कांग्रेसको भूमिकाका बारेमा आम जनताले प्रश्न गरिरहेका छन् । जनता सरकार निरंकुश बन्छ कि भन्ने त्रासमा छन् । यसका लागि कांग्रेसले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरुलाई बेलामौकामा प्रशिक्षण, छलफल र अन्तरक्रिया गरिनुपर्छ । सेवा प्रवाह, कार्यशैली र योजनाका सवालमा कांग्रेसका मन्त्रीहरुको मूल्यांकन गर्न एक समिति नै खडा गरेर कांग्रेसले मन्त्रीहरुसँग निरन्तर सहकार्य गर्नुपर्छ । प्रदेश सरकारमा गएका मन्त्रीहरुको छनोट र अनुशासनको अवस्था कमजोर देखिएको गुनासोहरु आइरहेकाले प्रदेश सरकारका मन्त्रीहरुका सम्बन्धमा पार्टीले केही नयाँ योजना बनाउन जरुरी छ ।
आदरणीय सभापतिज्यू,
संघ तथा प्रदेशहरुमा पटक पटकको सरकार अदलबदल, सरकारको सेवा डेलिभरी कमजोर, संगठनका गतिविधि, प्रशिक्षण, अन्तरक्रिया, सभा सम्मेलन, क्रियाशीलता नवीकरणलगायतका काममा कांग्रेसमा सुस्तता छ भन्ने गुनासो हामीले सुन्यौँ । आफ्नो संगठन गर्नुभन्दा पनि नयाँ दल वा नयाँ नेताहरुलाई गाली गरेर समय व्यतीत गरेको, गुटबन्दी बढेको, कार्यकर्तामा उत्साह जगाउन नसकेको, स्थानीय तहका आधारभूत समस्या समाधानमा पहलकदमी नगरेको लगायतका तमाम गुनासोहरु साथीहरुले सुनाउनुभयो । यस्ता विषयमा जारी केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुनुपर्छ । संगठन चलायमान बनाउन, नयाँ पुस्तालाई कांग्रेसप्रति आकर्षण बढाउन केन्द्र, प्रदेश, जिल्ला तहका नेताहरुलाई कार्य विभाजन गरी सक्रिय बनाउनुपर्ने देखिन्छ । नेपाली कांग्रेसको नीति प्रस्तावमा पर्याप्त सुधार गर्नुपर्ने नदेखिएपनि सांगठनिक प्रस्तावका सवालमा केही संशोधन गर्न आवश्यक देखेको छु ।
धन्यवाद, जय नेपाल ।