काठमाडौँ, २३ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताउनुभएको छ ।
बुधबार नेकपा (माओवादी केन्द्र) हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताउनुभयो ।
उहाँले भन्नुभयो , ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारबाही अगाडि बढायो , त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराए र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे । मध्यरातमा लुकेर, छिपेर ,ढाँटेर सरकार गठन गरे ।’
साथै उनले नेपाली जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताउनुभयो । उहाँले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य बनेका समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ त्यो प्रतिनिधिसभालाई मात्र होइन हाम्रो पार्टीका तमाम नेता कार्यक्रता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाई, जाति, क्षेत्र, लिंग र समुदायलाई एउटा नयाँ क्रान्तिको लागि गरिएको अपिल हो ।’