काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापि नगर्ने बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अहिलेको सरकार प्रतिशोधका लागि नभइ अर्थतन्त्रमा र समाजको सुधारका लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन । कसैले कसुर गर्यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन । अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम् विकासको गति ल्याउनका लागि हो । त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने खालको काम पनि गर्दैन । कसैले भ्रष्टाचार गर्यो भने अनुहार पनि हेरिँदैन । कोही उम्किन पनि पाउँदैन ।’
उहाँले कर महसुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन । कर महसुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ । तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ ।’