सरकार निरंकुश बन्नसक्छ, खबरदारी जरुरी छ : डा.कोइराला

38

काठमाडौँ, २० साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसद्का दुई ठुला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले दुई ठुला राजनीतिक दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने शंका पैदा भएको भन्दै सरकारलाई ठिक बाटोमा ल्याउन आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले कहीँकतै केही कमजोरीहरू सरकारमा देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुईवटा ठुला दल सरकारमा छन् । नेपाली कांग्रेस र एमाले ठुला दल एकै ठाउँमा भएपछि निरंकुशता जन्मने पनि त्यतिकै शंका छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कैपनि सरकार ठिक बाटोमा हिँड्छ र हामी अगाडि बढ्न सक्छौँ ।’

नेता कोइरालाले सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नभएकालगायतका कारणले कांग्रेस र एमालेको सरकार गठन गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।

‘नेपाली कांग्रेस र एमालेको सरकारलाई टिकाएर कसरी अघि लाने, मजबुत कसरी बनाउने भन्ने चिन्ता छ । राजनीतिक स्थायित्व भएन भनेर सरकार बनाएको हो । यसले नीति पनि परिवर्तन हुन्छ र अप्ठेरा परिस्थिति पनि सिर्जना गर्छ । सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुन सक्ने लगायतका कारणले कांग्रेस र एमालेको सरकार बनाऔँ भनेर सोचेका हौँ,’ उहाँले भन्नुभयो ।

उहाँले अहिले पार्टी कमजोर भएको र नेताहरू कहीँकतै अल्झिएको जस्तो अनुभूति भएको बताउनुभयो । ०८४ को निर्वाचनमा कुनै दलको बैशाखी लिएर नभई एक्लै चुनाव लड्ने क्षमता बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...