कैलाली, १९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । शुक्रबार मात्रै पदभार ग्रहण गर्नुभएका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई भेटेर यस्तो बताउनुभएको हो ।
उहाँ शनिबार बिहानै कैलाली पुग्नुभएको थियो । बधाई तथा शुभकामना दिन आइपुगेका पार्टीका नेता तथा कार्यकता र मतदातालाई उहाँले भन्नुभयो, ‘म आज आफूले बधाई लिन आएको हैन । मलाई आफ्नो अमूल्य मत दिएर मन्त्रीको पदमा पुर्याउने तमाम मतदाताहरुलाई बधाई दिन आएको हुँ । मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र मप्रतिको आशा केके छन् ? सोध्न आएको हुँ । तपाईंको लागि मैले राज्यमन्त्रीको भूमिकामा रहेर गर्नुपर्ने कामहरुको लिष्ट तयार पार्न आएको हुँ ।’
राज्यमन्त्रीमा नियुक्त भएकाले कार्यकारी भूमिका नरहेको हुँदा धेरै काम गर्न सक्ने स्थिति नभए पनि संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
‘सबै जनालाई मेरो अनुरोध छ । मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजका लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरुका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्’, राज्यमन्त्री चौधरीले भन्नुभयो, ‘म राम्रो कामका लागि हरेक मानिसहरुसँग सहकार्य गर्न सधैँ तयार छु । गलत कामका लागि जो कोही होस्, कहिल्यै पनि हात मिलाउँदिन ।’
गृहजिल्ला पुगेका राज्यमन्त्री चौधरीले कैलालीकै चर्चित र धार्मिक महत्व बोकेको घोडाघोडी मन्दिरमा पनि दर्शन गर्नुभएको छ। देशभरका सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुको व्यवस्थापन, प्रवर्द्धन तथा प्रचारप्रसारका लागि आवशयक योजना बनाउने दायित्व आफ्नो रहेको बताउँदै उहाँले त्यसका लागि लागि पर्ने बताउनुभयो ।
‘मेरो काम बजेट बाँड्ने हैन । बजेटको कार्वान्वयनको अवस्था के छ ? भनेर अध्ययन अनुगमन गर्ने हो । कहाँ कहाँ बजेट हाल्नु पर्नेछ ? कहाँ कसरी काम गर्नुपर्नेछ ? मन्त्रालय मातहतमा भएर काम गरिरहेका कहाँ कमिकमजोरी भएको छ ? भनेर अध्ययन गर्ने, अनुगमन गर्ने हो,’ चौधरीले भन्नुभयो, ‘राज्यमन्त्रीले केही गर्दैनन्, केही गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन गरेर आफ्नो अधिकारको अधिकतम प्रयोग गरेर दत्तचित्त र इमान्दारिताका साथ काम गर्नेछु ।’