काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने/नजाने निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उहाँले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गरेर निर्णय गरेपछि मात्र टुंगोलाग्ने भन्दै व्यक्तिगत चाहनाले निर्णय हुने विषय नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितीले निर्धारण गर्छ । हाम्रो चाहनाले मात्र हुँदैन । गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेदाए सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ । व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन । त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन ।’
यस्तै, कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उहाँले संविधानको आधारभूत मान्यतामा एकमत नभए पनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश सभामा सहभागी भएपछि अथवा खासगरी सभामुखका रुपमा सहभागी भएपछि जिल्ला अध्यक्षहरुसमक्ष स्पष्ट भन्छु खासगरी कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागी हुनुहुन्न भन्ने पक्षमा नै थिएँ । त्यही कुरा निर्देशन पनि दिएको थिएँ । तर, विदेशमा भएको बेला साथीहरु सहभागी हुनुभयो । संविधानको आधारभूत मान्यतामा पनि एकमत छैन । तर, सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौँ । सरकारमा पनि त्यही आवश्यकताअनुसार सहभागी हुन्छौँ र ठिक लागेन भने बाहिर हुन्छौँ ।’