काठमाडौँ, १६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङमार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतिपूर्ति दिने बताउनुभएको छ ।
बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङमार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उहाँले जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर घरको हकमा क्षतिपूर्ति दिने भन्दै जग्गाको विषयमा भने अली विवाद भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जोखिममा पर्ने घरहरुलाई मूल्यांकन गरेर के गर्ने भनेर निष्कर्ष निकालेका छौँ । त्यसको क्षतिपूर्ति दिने बारेमा हामी एकदमै सकारात्मक छौँ । क्षतिपूर्ति दिनुपर्छ भनेर मानसिकता पनि बनाइसकेको अवस्था छ । घरको हकमा क्षतिपूर्ति दिने कुरा भएको छ तर जग्गाको विषयमा भने अलि विवाद रहेको हुनाले त्यसबारे छलफल गर्दैछौँ ।’
उहाँले सुरुङ मार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा प्राविधिक, भूगोलविद्हरुसहितको परामर्श समिति बनाएको भन्दै समितिको प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यसलाई हामीले जसरी भए पनि सफल गर्नुपर्छ । हामीले पहिलो नम्बरमा जनतालाई सम्बोधन गर्नुपर्ने हुन्छ, सुरुङमार्गको कार्य सञ्चालन गर्दा चर्किएको घरहरुको सन्दर्भमा एउटा समिति, परामर्श समिति भनेर प्राविधिक, भूगोलविद्हरुसहितको समिति बनाएका छौँ । त्यो समितिले अध्यन गरेर एउटा प्रतिवेदन बुझाएको छ । त्यो प्रतिवेदनलाई आधार बनाएर कामहरु अगाडि बढाइरहेका छौँ ।’
यसको साथै, पानी सुकेको र सिंचाइको व्यवस्थाको सन्दर्भमा सिंचाइ विभागसँग कुरा गरेर समस्या समाधान गर्ने पनि उहाँको भनाइ छ ।