काठमाडौँ, १६ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले क्षमताभन्दा बढी कैदीबन्दी राखेर सबै मानव अधिकार हनन गर्ने काम भएको बताउनुभएको छ ।
बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उहाँले अहिलेको समयमा कैदीहरुको आफ्नो मानव अधिकार पूर्णरूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारको अवस्था बुझ्न जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा बन्दीले के भन्यो भने एउटा खाटमा हामी तीन जना सुत्छौँ मान्यज्यू ! तर, यो समस्या सबै कारागारमा नहोला तर यो गम्भीर विषय चाहिँ हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु यो मानव अधिकार हनन जस्तै भयो त्यसैले सबैको लागि यो गम्भीर कुरा हो ।’
यस्तै, उहाँले कैदीबन्दीका समस्या समाधान गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले सक्षम योग्य गृहमन्त्री मुलुकले पाएकाले चाँडै समस्या समाधान हुनेमा आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मुलुकले अहिले सक्षम र योग्य गृहमन्त्री पाएको छु । यो विषयमा टोटल सबै टिम बसेर यो समस्यालाई कसरी समाधान गर्ने भनेर केन्द्रित चाहिँ हुनै पर्यो, हाम्रो पाटोबाट तपाईंहरुलाई के सहयोग गर्नुपर्ने हो हामी गर्न तयार छौँ । तर, यो देशकै समस्या हो, आखिर कारागार चाहिन्छ नै यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्यो, खाना, मनोरञ्जनभन्दा नि एउटा खाटमा एक जना मात्र कैदी सुत्ने व्यवस्था हुनुपर्यो ।’