काठमाडौँ, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला दुई दलको मिलन खतराको घन्टी भएको टिप्पणी गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले ठुला दुई दलको मिलन खतराको घन्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाइलहरु खोल्न नपाउँदै ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले भन्दै आएको दुई ठुलो दलको यो मिलन खतराको घन्टी हो । हिजो कुरा चल्यो फाइल तिमीहरुले होइन हामीले खोलेका हौँ भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौँ भनिदिएको भए पनि राम्रो हुने थियो । फाइल तपाईहरु नै खोल्नुभएको तर बन्द नहुँदै जिउँदै फाइल गाड्ने प्रयास गर्नुभयो जुन फाइलमा प्राण थियो ।’
उहाँले संसद्मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठुला दलको नयाँ दलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाउनुभयो ।
आइतबारको विशेष समयमा बोल्दै कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेले आफ्नो कार्यकालमा सिरोहियाको नागरिकताबारे एउटा मात्रै फाइल खोलेको र त्यो पनि खोदा पहाड, निकला चुहा’ भएको अभिव्यक्ति राख्नुभएको थियो ।
त्यस्तै, सोमबार नेकपा (एमाले)का सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको थियो।
उहाँले भन्नुभयो, ‘संसद्मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट थाहा हुन्छ । सरकारमा रहेका दुई ठुला दलको टारगेट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी छ । हिजोको कांग्रेसको महामन्त्रीको अभिव्यक्ति आजको एमालेको पुराना नेताहरुको अभिव्यक्तिले के दखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ । एउटा एउटा आरोप लगाइदिनुपर्छ । अनि मात्र हामी जोगिन्छौँ भनेर मिलेको स्पष्ट भएको छ ।’