काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था सिर्जना गर्न, लगानी गर्ने वातावरण बनाउन र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताउनुभएको छ ।
अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको बताउनुभयो । हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उहाँको भनाइ थियो ।
कोइरालाले भन्नुभयो, ‘केवल सत्ता टिकाउन सधैँ साना–साना २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि संसद्मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’
कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहीँ कतै गल्ती गर्ने छुट नभएको भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घरसम्म लैजाने बताउनुभयो । ‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ ’ कोइरालाले भन्नुभयो ।
भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारतअन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा.कोइरालाले निरंकुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठुलो गुन लगाएको बताउनुभयो ।
कोइरालाले भन्नुभयो, ‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पूर्ण नेपालीहरुले पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु ।’