काठमाडौँ, १० साउन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिताको बारेमा आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित छलफल कार्यक्रममा उहाँले संसद्मा मात्र ३३ प्रतिशत पुगेर नहुने भन्दै सुधारको क्रममा मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत पुग्नु पर्ने कुरामा जोड दिनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रीमण्डलमा महिलाहरुको उपस्थिति न्यून भयो भन्ने कुरा उठेको छ । अहिले हामी संसद्मा प्रतिनिधि गरेर ३३ प्रतिशत पुगेका छौँ । अब अर्को सुधार गर्ने क्रममा मन्त्रीमण्डलमै पनि ३३ प्रतिशत पुग्नुपर्छ भन्ने आवाज उठाउनुपर्छ । यस बारेमा छलफल भइरहेको छ ।’
यसका साथै उहाँले वर्तमान सरकारले आफ्नो काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै आउने समयमा हुने कामहरु महिलाको पक्षमा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको सरकारले एउटा मुख्य एजेण्डा भनेको संविधान संशोधन गर्ने र संविधानको मूल मर्मलाई परिवर्तन नगरिकन अझ राम्रो कसरी बनाउने भन्ने कुरामा सरकारले पहल गर्छ । यही पहलकदमीमा नै हरेक सरकारको काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्छ भन्ने एउटा कुरा पास भएको छ ।’
देशमा उठेका हरेक मुद्दाहरुमा सरकार र प्रतिनिधि सभाले गम्भीर भएर हेर्ने पनि उहाँको भनाइ छ ।