प्रदेश सरकार गठनका विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्यो

90

काठमाडौँ, १० साउन । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरणअनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर, प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै वरिष्ठ नेता डा.शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ । सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन् ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे हिजो २०८१ श्रावण ८ गते मंगलबार दिउँसो विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बृहत् अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।

डा.कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गर्नुभएको थियो । छलफलमा कोशीमा–२ बागतीमा–३ गण्डकीमा २, लुम्बिनीमा, २, कर्णालीमा, १ र सुदुरपश्चिममा, १ जना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

बैठक सकिएलगत्तै डा.कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाउनुभएको कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ । सचिवालय स्रोतले भन्यो, ‘कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन । र विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक कोइराला पूर्ण रुपमा बेखबर हुनुहुन्छ ।’

यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदहरूलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

कोइराला समूहलाई बाइपास गर्दै देउवाले बुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरणअनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरुको नाम सिफारिस गरेका छन् । बागमती प्रदेशमा कांग्रेस नेता बहादुर सिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ भने लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...