काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बिपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरूवात गर्न पाउँदा खुसी लागेको छ । बिपी कोइराला हरेक विषयका एक योद्दा नै हुनुहुन्थ्यो । बिपीका बारेमा मैले भन्ने गरेको छु । उहाँ हरेक चिज र सबै ठाउँमा छ । साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’
बिपी कोइराला आफ्नो सिद्धान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ ।