भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म विकास असम्भव : डा.भट्टराई

17

काठमाडौँ, ५ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेन्डा उठाउँदैमा वैकल्पिक शक्ति बन्न नसकिने बताउनुभएको छ ।

शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुरामः एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी गठन गर्ने, चारजना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेन्डा उठाइदिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनु हुँदैन । जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ ।’

यस्तै, उहाँले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन । तर, भारतको अर्थतन्त्र ठुलो छ, हाम्रो सानो छ । खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिँदैन, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’

Share This:
सम्बन्धित खबर
Loading...