वर्तमान सरकार कमिसनका भरमा सञ्चालित छ : देव गुरुङ

34

काठमाडौँ, ५ साउन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान सरकार कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सञ्चालन भएको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित पार्टीको लमजुङ काठमाडौँ सम्पर्क समन्वय समितिको छैठौँ भेलामा बोल्दै उहाँले निवर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियान सुरु गरेपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुगेको कारण सत्ता परिवर्तनको निष्कर्षमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले कमिसन र भ्रष्टाचारीतन्त्रको भरमा सरकार सञ्चालन गर्न लागेका छन् । अहिले विदेशी अनुहारका मान्छेहरु आएर शासन गर्ने त होइनन् भन्ने चिन्ता छ । अहिले गर्ने भनेको त कमिसन छुट्याउने मात्र हो ।’

‘माओवादी नेतृत्वको सरकारले भष्टाचारी र कमिसनतन्त्रको विरुद्धमा काम थाल्यो । सुशासन कायम राख्न र भ्रष्टाचारलाई नियन्त्रण अभियान सुरु गर्न थाल्यो त्यसपछि कमिसनतन्त्रको संयन्त्रमाथि ठेस पुग्ने भएपछि कांग्रेस–एमालेका नेताहरु अत्तालिने थालेका हुन् अनि सरकार परिवर्तन नगरिकन हुँदैन् भन्ने निष्कर्षमा पुगे,’ महासचिव गुरुङले भन्नुभयो ।

महासचिव गुरुङले माओवादीलाई समाप्त पार्न ओलीलाई अगाडि सारिएको आरोप पनि लगाउनुभयो । पहिलेपनि माओवादीलाई समाप्त गर्न देउवालाई उभ्याएर सकिँदैन भनेर उपेन्द्र यादव, माधव नेपालको पार्टी तोडफोड गरेर एमालेलाई ठुलो पार्टी बनाउन खोजेको गुरुङले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...