काठमाडौँ, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस र एमालेबीचको सहकार्य रहर नभइ वाध्यता भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाजुरा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस–एमाले एक ठाउँमा आउनु बाध्यता भएको स्पष्ट पार्नुभयो ।
‘कांग्रेस–एमालेबीचको सहकार्य रहर होइन बाध्यता हो । विकृति र विसंगतिलाई अन्त्य गर्न हो । देशमा विद्यमान निराशालाई अन्त्य गर्न, अर्थतन्त्र सुदृढ पार्न र सुशासनको प्रत्याभूति दिनका लागि हो,’उहाँले भन्नुभयो, ‘विदेशमा गएकालाई नेपाल फर्कौँ फर्कौँ भन्ने बनाउन र स्वदेशमा रहेकालाई स्वदेशमै बसौँ बसौँ भन्ने बनाउन र सुशासन कायम गर्न एमाले–कांग्रेसको सहकार्य हो ।’
मुलुकलाई अपसंस्कृतिबाट असल संगतितिर लानुपर्ने आफूहरुको बाध्यता रहेको उहाँको भनाइ छ । ‘विश्वका जतिपनि देशहरु विकासको उत्कर्षमा छन् वा सफलता हासिल गरेका देशहरु छन्, तिनीहरुले असल संस्कृति, इमान र निष्ठाको बाटोबाट प्राप्त गरेका हुन् । बिपी, गान्धी र मण्डेलाको बाटो भनेको आदर्श, निष्ठा र इमानको बाटो हो । त्यसैले हामी निष्ठा र इमानको बाटोमा अघि बढ्नेछौँ,’मन्त्री पाण्डेले भन्नुभयो ।
शक्ति भन्ने कुरा प्राप्त भइरहला तर शक्तिको दुरुपयोग गरियो भने कुनै दिन आत्मघाती हुनसक्नेमा आफू सचेत रहेको उहाँको भनाइ थियो । ‘मन्त्री वा प्रधानमन्त्री भएर काम नगर्ने छुट छैन । अनियमितता गर्न र भ्रष्टाचार गर्ने छुट छैन । स्वच्छतासहितको काम गर्नु पर्ने आवश्यक्ता छ । धेरै गर्न नसके पनि राम्रो र स्वच्छ काम गर्न एवम् बजेट कार्यान्वयन गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।
पिछडिएका क्षेत्रलाई विकासको मूलधारमा ल्याउनुपर्ने दायित्व आफूसँग रहेको औँल्याउँदै मन्त्री पाण्डेले आफ्नो गृहजिल्लाको विकासमा सधैँ कटिवद्ध रहने प्रतिवद्धता जनाउनुभयो ।