काठमाडौँ, ४ साउन । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री सुजाता कोइरालाले कोइराला परिवार एकजुट भएर कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रबार बालुवाटारस्थित डा.शेखर कोइरालाको सचिवालयमा पुगेर कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले डा.शेखरको नेतृत्व स्वीकार्ने बताउनुभयो ।
‘देशको अवस्था गम्भीर छ । हामी एकजुट भएर अघि बढेनौँ भने कांग्रेस रहँदैन, डेमोक्रेसी पनि रहँदैन र मुलुकपनि रहँदैन, हामी कोहीपनि रहँदैनौँ । त्यसैले हामी कसैले केही त्याग गर्नैपर्छ,’ उहाँले अगाडि भन्नुभयो,‘हामी कोइराला परिवारमा केही विवाद छैन । शेखर दाले धेरै मेहनत गरिरहनुभएको छ, नेतृत्व गरिरहनुभएको छ । उहाँको नेतृत्वलाई सबैले साथ दिनुपर्छ ।’
डा.शेखरको निमन्त्रणामा सचिवालयमा पुगेकी नेतृ कोइरालाले डा.शंशाकलाई पनि एकै ठाउँमा ल्याएर आफ्नो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपना पूरा गर्नुपर्ने बताउनुभयो । ‘डा.शंशाक पनि यहाँ आउनुपर्छ । हामी उहाँलाई ल्याएरै छाड्छौँ । सबै मिलेर अघि बढौँ, हामी कोहीबीच विवाद छैन । देशको निकासका लागि हामी एक ढिका हुनुपर्छ ।’
भेटघाटका क्रममा डा. शेखर कोइरालाले धेरै कार्यकर्ता र शुभेच्छुकहरुले कोइराला परिवार एक ढिक्का भएको सन्देश दिनुपर्ने इच्छा रहेको सुनाउनुभयो ।
‘कांग्रेसबीच एकता आवश्यक छ । गिरिजाबाबुले भन्दै आउनुभएको सहमति, सहकार्य र एकताको कुरा आज सान्दर्भिक छ,’ उहाँले अगाडि भन्नुभयो,‘कोइराला परिवारमा सम्बन्ध कहिल्यै विग्रिएको छैन । तर, कोहीबेला यताउता हुन्छ, त्यो सामान्य हो । आज सुजाताजी यहाँ आउनुभएको छ, त्यो एकताका लागि आउनुभएको हो । राष्ट्रियता, कांग्रेस र देशलाई बचाउन हामी एक ठाउँमा छौँ ।’
आकस्मिक तय भएको भेलामा कांग्रेसका दर्जनौँ कार्यकर्ता डा.कोइरालाको सचिवालयमा पुगेका थिए । १४औँ महाधिवेशनमा तीनतिर विभाजित भएका डा.शेखर, डा.शंशाक र सुजताबीच १५औँ महाधिवेशनमा एकढिक्का गराउन कार्यकर्ता तहबाट दबाब बढेको बताइन्छ ।