काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र होइन सरकरका काम कारबाहीका लागि सुझाव दिन पनि आह्वान गर्नुभएको छ ।
शुक्रबार नेकपा (एमाले)ले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उहाँले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि निर्देशन दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘सुझावका लागि धन्यवाद दिन चाहन्छु । प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन कार्य सम्पादन गर्न उपयोगी हुनेछ । यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो । सुझावले सरकारलाई काम मार्गदर्शन गर्नेछ । प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’
उहाँले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियो ।