बिआरआई परियोजनाको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन : देव गरुङ

28

काठमाडौँ, ३ साउन । माओवादी केन्द्रका महासचिव देव गुरुङले बिआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘बिआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उहाँले दुई पक्षीय वार्ता भएर बिआरआईको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बिआरआईको सन्दर्भमा सबै दलहरु र राज्यका अंगहरुको सहमति जुट्न सक्यो भने मात्रै सम्झौता गर्ने, नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो । पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भयो । सरकार परिवर्तन हुनुको पछाडि बिआरआई रहेको कुरा प्रष्ट छ ।’

उहाँले नेपालभित्र सहमति जुट्न नसकेका कारण बिआरआई परियोजनाको नीतिगत कार्यान्वयनसम्बन्धी प्रस्तावमा सहमति जुट्न नसकेको बताउनुभयो ।

‘बिआरआई परियोजनाको पहिलो चरणको सम्झौता २०१७ मा भइसकेको छ । नीतिगत कार्यान्वयनसम्बन्धी सम्झौता गर्ने चरण अहिले हो । नीतिगत कार्यान्वयनसम्बन्धी सम्झौताको लागि गत वर्षदेखि निरन्तर रुपमा छलफल चलिरहेको छ । तर, यसको कागजात तयार गर्ने क्रममा नेपालको तर्फबाट सहमति हुँदाहुँदै हस्ताक्षर गर्ने प्रक्रियामा ढिला भइरहेको छ । पटक पटक हस्ताक्षरको लागि पहल भएको छ । तर, नेपालभित्रको आफ्नो सहमति जुट्न नसकेको कारणले गर्दा नीतिगत कार्यान्वयनसम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

नेपाललाई स्वाधिन राष्ट्र बनाउने कि नबनाउने भन्ने प्रश्नसँग बिआरआई परियोजना सम्बन्धित रहेको भन्दै आगामी दिनमा आपसी सहमतिको आधारमा फेरि यो परियोजना अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...