कांग्रेसको वर्चश्व तोडेका मानवीरलाई रक्षा मन्त्रालयको चाबी

217

काठमाडौँ, ३१ असार । नवनियुक्त रक्षा मन्त्री मानवीर राईले पदभार ग्रहण गर्नुभएको छ । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएका मन्त्री राईले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गर्नुभएको हो ।

उहाँले पहिलो पटक मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो । एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बुमा एमालेले पहिलो पटक २०७९ सालमा चुनाव जितेको थियो । नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई हराएर राई एमालेको तर्फबाट निर्वाचित हुनुभएको थियो ।

२०२७ साल असार ७ गते बुबा आशकुमार र आमा जतनमाया राईको अन्तरे छोराको रुपमा माप्य दुधकोशी गाउँपालिका २ ठुलोढुंगामा जन्मिनुभएका उहाँ ०४२ सालदेखि विद्यार्थी राजनीतिमा होमिनुभएको थियो ।

२०७२ सालमा सम्पन्न छैटौँ अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटिको अध्यक्ष भइसकेका राई चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेसनबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

कांग्रेसका केसी सोलुखुम्बुबाट ०४८ पछि निरन्तर चुनाव लड्दै आए पनि तेस्रो पटक पराजित हुनुभयो । पछिल्लो निर्वाचनमा राईले १९ हजार ३२४ मत पाएर विजयी हुँदा कांग्रेसका केसीले १६ हजार ५४५ मत पाउनुभएको थियो ।

बहुदलपछि भएका निर्वाचनमा ०६४ र ०७४ मा नेकपा (माओवादी केन्द्र)ले विजयी गरेको बाहेक बाँकी सबै पाँच निर्वाचन कांग्रेसले जित्दै आएको थियो । निर्वाचनका बेला पुस्तानान्तरणको नारासहित मैदान उत्रिनुभएका उहाँले पहिलो प्रयासमै ओलीको मन जितेर रक्षा मन्त्रालयको चाबी नै बोकिसक्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...