सिमलताल पहिरो : बेपत्ता खोज्न प्रविधिको प्रयोग तर अवस्था असहज

175

काठमाडौँ, २९ असार । चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार पनि जारी छ ।

दुई बस शुक्रबार फेला नपरेपछि फेरि शनिबार बिहानैदेखि खोज्ने काम सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यादवका अनुसार नदीमा पानी बहाब बढेको, पानी धमिलो भएको साथै वर्षा भइरहेकाले खोजी कार्यमा असहज भइरहेको छ ।

यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रबार दिनभर जारी राखिएपछि केही फेला नपरको यादवले जानकारी दिनुभयो । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा एउटा ट्राउजर निकालिएको प्रजिअ यादवले बताउनुभयो ।

शनिबार बिहानबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर खोज्न थालेका हुन् ।

उहाँका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

यता, बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

Share This:
सम्बन्धित खबर
Loading...