काठमाडौँ, २८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको आरोप लगाउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भ्रष्टाचारको फाइल खोलेको २४ घन्टामा नै सरकार ढालेको भन्दै बेचन झा र प्रतीक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थीको कुरामा यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो फाइल खोल्छु । यो गर्छु त्यो गर्छु भन्नुहुन्थ्यो खोइ फाइल खोलेको भन्नुभएको थियो । फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर सदनलाई ढाँट्नुभयो । देशको बच्चा बच्चालाई थाहा छ के कारण र कसका कारणले सरकार ढल्यो । केही नियत बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन । आफुले गरेको सहमति खल्तीका हाल्नुभएको छ ।’
गृहमन्त्री लामिछानेले आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा आफू सहकारी ठग भनेर चिनिएको गुनासो गर्दै प्रमाणै प्रमाण बजारभरि भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आधार, प्रमाण, मुद्दा, उजुरी केहीपनि नभएको केसमा म सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हल्ला सुनिए अनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे सुनेअनुसार । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा फिर्ता ल्याउने कुरा स्टन्ट भएछ भने म तपाईंबाट यस्तै स्टन्टको अपेक्षा गर्छु । बाल मन्दिरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको नौ हजार जग्गाको अनुसन्धान सुरु भएको छ । पतञ्जलीको जग्गाको कामलाई अगाडि बढेको यसलाई अघि बढाउनुहोला, म तपाईंबाट यस्तो स्टन्टको अपेक्षा तपाईंबाट गर्छु ।’