काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त हुनुभएको छ । शुक्रबार विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त हुनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत पर्यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा उपस्थित २५८ सांसदमध्ये एक जना तटस्थ बसे ।
प्रस्तावको पक्षमा परेको ६३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।
नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलो पटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २७० जना सांसदमध्ये २६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए ।
त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथो पटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँको पक्षमा १५७ सांसदले मत दिएका थिए भने एक जना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।
सोही धाराको उपधारा (३) मा उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।