काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका सांसद रमेश लेखकले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्नुको मुख्य आधार राजनीतिक स्थिरता भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विश्वासको मत माग्ने प्रस्तावनामाथिको छलफलमा सहभागि हुँदै लेखकले पाँच पाँच पटक विश्वासको मत लिनुपर्ने स्थिति सिर्जना हुनु आफैँमा राजनीति अस्थिरता भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दुई ठुला दलहरुबीच सहमति गर्नुपर्ने केही कारणहरु छन् । केही विशेष परिस्थितिहरु छन् । यो सहमतिले मुलुकलाई ठिक ढंगले अगाडि बढाउन सकिन्छ भन्ने लागेको छ । यसका केही सैद्धान्तिक र केही व्यवहारिक आधारहरु छन् । यीमध्ये राजनीतिक स्थिरता एक बलियो आधार हो । प्रधानमन्त्रीज्यूले पाँचौँ पटक विश्वासको मत लिन आउँदै हुनुहुन्छ । के यो राजनीतिक स्थिरता हो ?’
प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दै लेखकले प्रतिपक्षमा बस्ने हैसियत बनाएका व्यक्तिलाई ठिक ठाउँमा नराखेर प्रधानमन्त्री बनाएर संसदले गल्ती गरेको टिप्पणी गर्नुभयो ।
‘प्रधानमन्त्रीमाथि थप टिप्पणी गर्नुभएको कारणले म त्यतातिर जान चाहन्नँ । सम्माननीय प्रधानमन्त्री मेरो र सदनको पनि नेता हो । तर, म राजनीतिक टिप्पणी गर्न अनुमति चाहन्छु । दुई ठुला दलहरु मिल्दा संसदीय अभ्यासमा प्रतिपक्ष कमजोर भयो भन्नुभयो । तर, रोष्ट्रममा बोल्दै गर्दा प्रधानमन्त्रीको सम्बोधन हेर्दा प्रतिपक्षको लागि ठिक नेता देखेको कारणले प्रतिपक्ष कमजोर हुन्न भन्ने लागेको छ । प्रतिपक्षमा बस्ने हैसियत बनाएका व्यक्तिलाई ठिक ठाउँमा नराखेर प्रधानमन्त्री बनाएर हामीले गल्ती पो गर्यो कि ? अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । त्यसकारण लोकतन्त्र कमजोर हुँदैन,’उहाँको भनाइ थियो ।