काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले बैठकमा बोल्दै भन्नुभयो, ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला या नपाउँला, म प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन । म पहिलो चोटी प्रधानमन्त्री हुँदाखेरी नै कति दिन हो त्यो मलाई त्यति सरोकारको विषय होइन, पूरै अवधि त म जान्न भन्ने मैले राजनीतिक अनुमान नै लगाइसकेको थिए । तर, म चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट ।’
साथै उहाँले संसदको पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गर्नुभयो । उहाँले एमाले र कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यो डर हो जसले तपाईंलाई जोडेर राखेको छ त्यो हो सुशासन, सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले यिनीहरूले हात मिलाएका हुन् । तर, थाहा छ कि छैन तिमीहरूको मूल्यांकन जनताले गरिरहेका छन् ।’