प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

55

काठमाडौँ, २८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

‘विश्वासको मत दिने र ह्वीप पनि जारी गर्ने निर्णय गरेका छौँ । आज सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानको धारा १०० को (२) अनुसार आफूमाथि संसद्को विश्वास छ भनी प्रस्ताव पेस गर्दै हुनुहुन्छ, आजको मुख्य मुद्दा त्यो थियो । सम्पूर्ण माननीय सदस्यहरूले आजसम्म गरेका कामकारबाहीको पनि छलफल भयो,’ उहाँले भन्नुभयो ।

बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरिएको उहाँको भनाइ छ ।

त्यस्तै, बैठकमा पार्टीका मन्त्रीहरुले अहिलेसम्म गरेको काम कारबाहीका विषयमा पनि छलफल भएको परियारले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आज पाँचौपटक विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...