काठमाडौँ, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै एमालेका अध्यक्ष केपी ओलीले ढाँट छल गरेर नयाँ समीकरण बनाएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले दस्तखत भइसक्दा पनि केही भएको छैनजस्तो देखाएर नयाँ समीकरण गरेर झुक्काउने काम भएको जानकारी गराएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘१७ गते प्रधानमन्त्री र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको र त्यहाँ सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने कुरा भएको र बाहिर मिडियामा आएका समाचार झुटा हुन् भनेपछि १७ गते राति १२ बजे दस्तखत गरिसकेपछि पनि ओलीले बिहान प्रधानमन्त्रीसँग भेटेर केही भएको छैन भने, ३ जना नेता नै बसेर कुरा गर्ने भनेको र केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भनेर सोधेपछि शेरबहादुर देउवाले हैन दस्तखत भइसक्यो अब सक्योे सरी भनेपछि बल्ल बाहिर आयो यस्तो ढाँट छल भयो भनेर दललाई प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।’
त्यस्तै, बैठकले संविधानको व्यवस्थाअनुसार विश्वासको मत फेस गर्ने र त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।